दबाब र प्रलोभनबाट माथि उठेर न्याय दिन्छु : प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कुनै पनि किसिमको दबाब, प्रलोभन वा धम्कीलाई हाबी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एक न्यायाधीश निरपेक्ष रहँदै संविधान, कानून र न्यायको पक्षमा मात्र उभिनुपर्नेमा जोड दिएका हुन् ।

आइतबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले कानुन व्यवसायीको भूमिका र न्यायाधीशको जिम्मेवारीबीचको भिन्नतालाई स्पष्ट पारे । उनले आफू न्यायाधीशमा नियुक्त भएमा विगतको भूमिकाबाट पूर्णतः अलग भई केवल न्याय र कानुनको पक्षमा अडिग रहने दृढता व्यक्त गरे ।

आफ्नो विगतको भूमिका र भविष्यको जिम्मेवारीबारे स्पष्ट पार्दै उनले भने, ‘कानुन व्यवसायीले कुनै न कुनै पक्ष लिनैपर्छ, तर न्यायाधीशको कुनै पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो त्यो भूमिकालाई पूर्ण रूपमा परिवर्तन गरी संविधान, कानून र न्यायको पक्षमा आफूलाई अब्बल सावित गर्नेछु ।’

उनले स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनका लागि न्यायाधीशले हरेक प्रकारका बाह्य प्रभावबाट मुक्त हुनुपर्ने बताए । ‘न्यायपालिकामा दबाब, प्रलोभन वा धम्कीहरू आउनसक्छन्, तर एक न्यायाधीश ती सबैभन्दा माथि उठेर निर्णय गर्न सक्षम हुनुपर्छ,’ उनले भने, ‘कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा समेत न्यायपालिकाले आफ्नो स्वतन्त्र भूमिका कायम राख्नुपर्छ ।’

प्रस्तावित न्यायाधीश पोखरेलले राज्यका सबै अंग संविधानको सीमाभित्रै रहेर सञ्चालन हुनुपर्नेमा जोड दिए । संविधानको मर्यादा नाघ्ने प्रयास भएमा मुलुकमा गतिरोध उत्पन्न हुनेतर्फ सचेत गराउँदै उनले विधिको शासन स्थापनाका लागि सबैले आफ्नो दायित्व र सीमाको सम्मान गर्नुपर्ने धारणा राखे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री