काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)सँग बेलाबखत देखिने असमझदारीलाई स्वाभाविक संज्ञा दिएका छन् । उनले दुई फरक वैचारिक धरातलका दलहरू मिलेर सरकार चलाउँदा मुद्दापिच्छे फरक धारणा आउनु सामान्य राजनीतिक प्रक्रिया भएको बताएका हुन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले गठबन्धनभित्र देखिने मतभेदका कारण सरकारको यात्रामा कुनै असर नपरेको स्पष्ट पारे । ‘एमाले र कांग्रेस फरक-फरक पार्टी हुन् । त्यसैले कहिलेकाहीँ असमझदारी देखिन्छ, यो स्वाभाविक हो,’ उनले भने, ‘तर सरकार आपसी सहमतिअनुसार नै अघि बढेको छ ।’
पछिल्लो समय सत्ता गठबन्धनका दलहरूबीच विभिन्न नीतिगत विषयमा मतभेद रहेको चर्चा चलिरहेका बेला सभापति देउवाको यस्तो भनाइ आएको हो । उनले फरक दलहरूबीच सत्ता सहकार्य हुँदा धारणा फरक-फरक देखिनुलाई अनौठो मान्न नहुनेमा जोड दिए ।
गठबन्धनभित्र सहमतिमै काम भइरहेको उदाहरण दिँदै उनले भर्खरै प्रस्तुत बजेटमा रहेको ‘टेक एन्ड पे’ को व्यवस्था कांग्रेसकै आग्रहमा सहज रूपमा हटाइएको बताए । यसले गठबन्धनभित्र आपसी सुनुवाइ र सहकार्यको संस्कृति रहेको पुष्टि हुने उनको भनाइ थियो ।




