काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका-६, पाखापानीमा एक व्यक्तिले आफ्नै सहोदर भाइको बन्चरो प्रहार गरी हत्या गरेका छन् । श्रीमतीसँग भाइको अनुचित सम्बन्ध रहेको आशंकामा ४२ वर्षीय टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय ठाडाका अनुसार, लामो समयदेखि भाउजूसँगको आचरणको विषयलाई लिएर दुई दाजुभाइबीच विवाद चल्दै आएको थियो । बिहीबार साँझ दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद चर्किएपछि टेकबहादुरले भाइमाथि बन्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले राति १ बजे मृत घोषणा गरेको थियो ।
घटनालगत्तै भारत भाग्ने तयारीमा रहेका अभियुक्त टेकबहादुरलाई प्रहरीले स्थानीयको सूचनाको आधारमा पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक अविवाहित थिए भने जेठा दाजु शारीरिक रूपमा अपाङ्ग छन् ।




