नेशनल लाइफको नेतृत्वमा पुनः प्रेमा सिंह, स्थायित्व र सेवा सुदृढीकरणको प्रतिबद्धता

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेतृत्वमा पुनः प्रेमा राज्यलक्ष्मी सिंहले निरन्तरता पाउनुभएको छ । कम्पनीको हालै सम्पन्न ३७औँ वार्षिक साधारण सभाले सिंहलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको हो ।

यस पुनर्निर्वाचनले कम्पनीको सञ्चालक समितिमा नेतृत्वको स्थायित्वलाई सुनिश्चित गरेको छ भने लगानीकर्ता र बीमितहरूको विश्वासलाई थप बलियो बनाएको छ । अध्यक्षमा पुनः निर्वाचित भएसँगै सिंहले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम आयोजना गरिएको शपथ ग्रहण समारोहमा बीमा क्षेत्रका नियामक र व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति थियो । समारोहमा प्राधिकरणका अध्यक्ष सिलवालले नवनिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नियामक निकायको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास दिलाउनुभयो । उहाँले कम्पनीले आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक अभ्यास गर्दै बीमितको हकहित संरक्षणमा केन्द्रित रहने अपेक्षा राख्नुभयो ।

शपथ ग्रहणपश्चात् बोल्दै अध्यक्ष सिंहले बीमा प्राधिकरणप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चालक समिति, व्यवस्थापन र सम्पूर्ण कर्मचारीको सामूहिक प्रयासबाट नै नेशनल लाइफले आजको उचाइ हासिल गरेको हो । आगामी दिनमा कम्पनीको वित्तीय स्थायित्वलाई थप सुदृढ गर्दै, प्रविधिमैत्री सेवामार्फत बीमितहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं ।”

शपथ समारोहमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री लगायत कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । सिंहको नेतृत्वमा नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो बजार हिस्सा बढाउँदै संस्थागत सुशासन र व्यावसायिक उत्कृष्टतामा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप