लागुऔषधको जालो तोड्न ‘शक्तिशाली विभाग’ बनाउने गृहमन्त्री लेखकको घोषणा

काठमाडौं । सरकारले मुलुकमा बढ्दो लागुऔषधको दुर्व्यसन र अवैध ओसारपसारलाई नियन्त्रण गर्न एक महत्त्वपूर्ण रणनीतिक कदम चाल्ने भएको छ । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षदेखि गृह मन्त्रालयअन्तर्गत एक शक्तिशाली र स्वायत्त ‘लागुऔषध नियन्त्रण विभाग’ स्थापना गर्ने घोषणा गरेका हुन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त घोषणा गरे । उनले लागुऔषध नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै यसको न्यूनीकरणका लागि संस्थागत संरचना नै आवश्यक देखिएकाले विभाग गठनको निर्णय लिइएको स्पष्ट पारे ।

लागुऔषधको समस्याले समाजलाई भित्रभित्रै खोक्रो बनाइरहेको र यसले अन्य गम्भीर अपराधसमेत निम्त्याइरहेको तथ्यलाई औंल्याउँदै गृहमन्त्री लेखकले भने, ‘देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो ठूलो संख्या लागुऔषधसँग सम्बन्धित मुद्दाका छन् । यो तथ्यांकले नै समस्याको भयावह चित्र देखाउँछ ।’

कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मन्त्री लेखकले भने, ‘तपाईंहरुले उठाउँदै आउनुभएको मागलाई सम्बोधन गर्दै म यो घोषणा गर्न चाहन्छु कि आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ। यसका लागि आवश्यक तयारी अघि बढिसकेको छ ।’

आफू मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै लागुऔषध नियन्त्रणमा विशेष चासोका साथ काम गरिरहेको बताउँदै उनले नयाँ विभागले रोकथाम, नियन्त्रण, अनुसन्धान र पुनर्स्थापनाका क्षेत्रमा एकीकृत रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री