काठमाडौं । सर्लाहीको लालबन्दीमा टिपरको ठक्करबाट एक साइकलयात्री युवकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-५ मेजरगंजको भित्री सडकमा लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु भएको हो ।
घटनालगत्तै चालक फरार भएपछि आक्रोशित बनेका स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्, जसका कारण सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार टिपरले साइकलमा सवार कबिलासी नगरपालिका-८, अगरुवा निवासी २० वर्षीय सचिन साह (गुप्ता) लाई बुधबार राति करिब ८ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । तर, उनको उपचारका क्रममा राति ९ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टिपर चालक गाडी छाडेर भागेपछि स्थानीयवासी आक्रोशित बनेका थिए । करिब तीन/चार सयको संख्यामा जम्मा भएका स्थानीयको भीडले टिपरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आगजनीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन ५२ जना प्रहरी परिचालन गरिएको थियो । प्रहरीले फरार रहेका टिपर चालकको पहिचान गरी खोजी कार्य तीव्र पारेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




