काठमाडौं । दुई दिनदेखि बेपत्ता रहेका एक बालकको शव झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोला किनारमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीमा अन्दाजी १२ वर्षका, शरीरमा कपडा नरहेका बालकको शव खोलाले बगाएर ल्याएको सूचना प्राप्त भएको थियो।
प्रहरी टोली खटिएर पहिचान गर्दा मृतक कमल–१ का मिङमारेन्जे शेर्पाका छोरा सुसान शेर्पा रहेको पुष्टि भएको हो।
सुसान असार ८ गते दिउँसो ३ बजेतिर घरबाट कसैलाई नबताई निस्किएका थिए। खोजीका क्रममा नभेटिएपछि परिवारले असार ९ गते प्रहरीमा निवेदन दिएका थिए। हाल घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तपाईंको प्रतिकृया




