रास्वपा र राप्रपाको बहिष्कारका बीच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक (बजेट) मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरिएको हो ।

तर, बजेट पारित गर्ने कार्यवाहीका क्रममा प्रमुख विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । दुवै दलले बजेटमाथिको छलफलसमेत बहिष्कार गरेका थिए ।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै आएका छन् । मागहरू पुरा नभएको भन्दै जेठ १३ यतादेखि रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी नभएको जनाइएको छ ।

बजेट पारित भएसँगै आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि संसदमा अगाडि बढाइएको छ । विपक्षी दलहरूको विरोधका बीच सभाको नियमित प्रक्रिया भने अवरुद्ध नभई निरन्तर चलिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री