आर्थिक सपनालाई सार्थक बनाउन सुविधा र सुरक्षाको दोहोरो प्रत्याभूति
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा करिब चार दशकदेखि विश्वास र नवीनताको पर्याय बनेको नबिल बैंकले युवा पुस्ताको आर्थिक भविष्य सुरक्षित र सुदृढ गर्ने लक्ष्यका साथ आफ्नो लोकप्रिय ‘कर्मशील बचत खाता’ लाई थप परिमार्जित र सुविधासम्पन्न बनाएर प्रस्तुत गरेको छ ।
देश तथा विदेशमा रहेका कर्मशील नेपाली युवाहरूको बदलिँदो जीवनशैली, आर्थिक आवश्यकता र सपनाहरूलाई केन्द्रमा राख्दै बैंकले यो योजनालाई समयसापेक्ष परिमार्जनसहित अघि बढाएको हो ।
सन् १९८४ मा स्थापित भएदेखि नै सेवामा उत्कृष्टता, प्रविधि र उत्पादनमा नवीनतालाई आफ्नो मूल मन्त्र मान्दै आएको नबिल बैंकको यो कदमले युवाहरूलाई औपचारिक वित्तीय प्रणालीमा आकर्षित गर्ने र उनीहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।
के हो कर्मशील बचत खाता ?
कर्मशील बचत खाता १८ वर्ष पुगेका सम्पूर्ण नेपाली नागरिकहरूलाई लक्षित गरी बनाइएको एक विशेष बचत योजना हो । विशेषगरी आफ्नो भविष्य निर्माणको चरणमा रहेका, अध्ययन वा रोजगारीको सिलसिलामा देश वा विदेशमा रहेका युवाहरूका लागि यो खाता एक उत्कृष्ट वित्तीय उपकरण बन्न सक्छ । यस खाताले परम्परागत बचतको अवधारणाभन्दा माथि उठेर आधुनिक बैंकिङका अनेकौँ सुविधालाई एउटै छातामुनि समेटेको छ ।
बैंकका अनुसार, ‘नयाँ पुस्ता नेपालको आर्थिक विकासको मेरुदण्ड हो । उनीहरूको ऊर्जा, सपना र सम्भावनालाई सही वित्तीय माध्यमबाट सहयोग गर्नु हाम्रो दायित्व हो । कर्मशील बचत खाता केवल पैसा जम्मा गर्ने माध्यम मात्र नभई, युवाहरूको हरेक आर्थिक खुड्किलोमा साथ दिने साथी हो ।’
प्रमुख आकर्षणहरू : शून्य झन्झटदेखि स्वास्थ्य सुरक्षासम्म
यो खाताका विशेषताहरूले यसलाई बजारमा उपलब्ध अन्य बचत खाताभन्दा अलग र आकर्षक बनाएको छ । यसमा सुविधा र सुरक्षाको यस्तो संयोजन छ, जसले युवाहरूको हरेक आवश्यकतालाई सम्बोधन गर्दछ :-
- शून्य मौज्दात र निःशुल्क खाताः यस खाताको सबैभन्दा ठूलो आकर्षण भनेको यसमा रहेको शून्य मौज्दातको सुविधा हो । खाता खोल्दा कुनै पनि प्रारम्भिक शुल्क लाग्दैन र न्यूनतम रकम जम्मा गर्नुपर्ने बाध्यता छैन । यो सुविधाले गर्दा विद्यार्थी, भर्खरै रोजगारी सुरु गरेका वा उद्यमशीलताको यात्रामा रहेका युवाहरूलाई कुनै पनि आर्थिक भारविना बैंकिङ प्रणालीमा प्रवेश गर्न सहज बनाएको छ ।
- डिजिटल बैंकिङमा निःशुल्क प्रवेशः आजको डिजिटल युगमा युवा पुस्तालाई प्रविधिमैत्री बैंकिङको अनुभव प्रदान गर्न बैंकले खाता खोलेको पहिलो वर्षका लागि डेबिट कार्ड, क्रेडिट कार्ड (मापदण्ड पूरा भएमा) र मोबाइल बैंकिङ सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको छ । यसले युवाहरूलाई नगदरहित कारोबारमा अभ्यस्त हुन, समयको बचत गर्न र २४ सै घण्टा बैंकिङ सेवाको पहुँचमा रहन मद्दत गर्दछ ।
- स्वास्थ्य र जीवनको सुरक्षाः १३ घातक रोगविरुद्ध ३ लाखको बीमाः नबिल बैंकले आफ्ना ग्राहकको वित्तीय सुरक्षालाई मात्र नभई, उनीहरूको स्वास्थ्य सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेको छ । यसैलाई मध्यनजर गर्दै, कर्मशील बचत खातामा न्यूनतम १ लाख मौज्दात कायम गर्ने ग्राहकलाई बैंकले १३ प्रकारका घातक रोगहरूविरुद्ध ३ लाखसम्मको बीमा सुरक्षा निःशुल्क प्रदान गरेको छ । यो बीमा सुविधाले निम्न गम्भीर स्वास्थ्य अवस्थाहरूलाई समेट्छ :-
१) प्रमुख क्यान्सरहरू
२) पहिलो हृदयाघात
३) मिर्गौला फेल
४) मस्तिष्कघात
५) मुटुको भल्भको शल्यक्रिया
६) प्राइमरी पल्मोनरी हाइपरटेन्सन
७) गम्भीर कोरोनरी आर्टरी रोग
८) फल्मिनेन्ट हेपाटाइटिस
९) एप्लास्टिक एनिमिया
१०) कोमा (ऋयmब)
११) अन्तिम चरणको फोक्सो रोग
१२) अन्तिम चरणको कलेजो रोग
१३) मुख्य अंग – बोन म्यारो प्रत्यारोपण
यो पहलले खाताधारकलाई भविष्यमा आउन सक्ने कुनै पनि अप्रत्याशित स्वास्थ्य संकटको समयमा ठूलो आर्थिक आडभरोसा प्रदान गर्दछ र उपचारमा सहजता ल्याउँछ । - ऋण सुविधामा विशेष प्राथमिकताः आफ्नो भविष्यका लागि ‘केही गर्छु’ भन्ने दृढ संकल्प बोकेका युवाहरूका लागि यो खाता निकै उपयोगी छ । आफ्नो व्यावसायिक योजना साकार पार्न वा अन्य व्यक्तिगत आवश्यकता पूर्ति गर्न चाहने कर्मशील बचत खाताधारकहरूलाई बैंकले आकर्षक ब्याजदरमा विशेष ऋण सुविधा उपलब्ध गराउनेछ । यसले युवा उद्यमीहरूलाई आफ्नो सपना पूरा गर्न आवश्यक वित्तीय स्रोत जुटाउन मद्दत गर्दछ ।
- लकर सेवामा पारिवारिक छुटः वित्तीय सम्पत्ति मात्र नभई भौतिक सम्पत्तिको सुरक्षालाई पनि ध्यानमा राख्दै बैंकले खाताधारक र उनका परिवारका सदस्यहरूलाई लकर सेवा प्रयोग गर्दा २५ प्रतिशतको विशेष छुट प्रदान गरेको छ । यसबाट उनीहरूले आफ्ना बहुमूल्य गरगहना, कागजात तथा अन्य सामग्री सुरक्षित राख्न सक्नेछन् ।
दूरीको सीमा तोड्दैः विदेशमा रहेका युवालाई विशेष सुविधा
यो खाताको सबैभन्दा सान्दर्भिक पक्ष भनेको विदेशमा रहेका नेपाली युवाहरूलाई प्रदान गरिएको सहज पहुँच हो । विदेशमा बस्ने युवाले आफ्नै अन्तर्राष्ट्रिय मोबाइल नम्बर प्रयोग गरी खाता खोल्न र सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
जसले गर्दा विदेशमा कमाएको रकम सुरक्षित रूपमा नेपाल पठाउन, बचत गर्न र अन्य बैंकिङ कारोबार गर्न अत्यन्तै सरल भएको छ । यो पहलले युवाहरूलाई आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्न र नेपालमा आफ्नो आर्थिक जग बसाल्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ ।
रणनीतिक वित्तीय समावेशीकरणको हिस्सा
हाल नबिल बैंकले बालबालिकाका लागि ‘बाल बचत’, महिलाका लागि ‘नारी बचत’, ज्येष्ठ नागरिकका लागि ‘ज्येष्ठ नागरिक बचत’ लगायत २० भन्दा बढी प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यो विविधताले बैंकको सबै वर्ग र समुदायलाई वित्तीय पहुँचमा जोड्ने बृहत् रणनीतिको हिस्सा हो भन्ने देखाउँछ । यी सबै खाताहरूमध्ये ‘कर्मशील बचत खाता’ युवा केन्द्रित वित्तीय सशक्तीकरणको एक विशेष अभियानका रूपमा स्थापित भएको छ ।
आफ्नो बृहत् सञ्जाल (२६८ शाखा, ३१७ एटीएम र २०,००० भन्दा बढी रेमिट्यान्स एजेन्टहरू)मार्फत बैंकले देशको कुनाकाप्चासम्म वित्तीय साक्षरता र सेवा विस्तार गरिरहेको छ । कर्मशील बचत खाता यही बृहत् अभियानको एक सशक्त कडी हो, जसले युवाहरूको सपनालाई सुरक्षित भविष्यमा रूपान्तरण गर्न एक बलियो आधारशिला तयार गर्ने अपेक्षा गरिएको छ ।




