काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत सेवा भावले क्रियाशील अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ। यस ट्रस्टले अशक्त र पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक विशेष समारोहका बीच सहयोग हस्तान्तरण गरेका हुन्। उक्त समारोहलाई सम्बोधन गर्दै पोखरेलले सेवा र समर्पणमा आधारित कार्य गर्दै आएको संस्थालाई सानोतिनो भए पनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए।
उक्त ट्रस्टले धार्मिक सम्पदाको संरक्षण, मर्मत तथा व्यवस्थापन, नारीशक्तिको सशक्तीकरणका लागि कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण र पालनपोषण, यात्रीहरूलाई निःशुल्क भोजन सेवा तथा विश्राम र आवास सुविधा सहितको धर्मशाला सञ्चालन गर्दै आएको छ।
सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रहरूमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक योगदानका कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।




