दाङ । दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको छ । ज्यान गुमाउनेमा ४ महिला र १९ पुरुष रहेका छन् । घटनास्थलमै २२ जनाको ज्यान गएको हो भने थप एकजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु हुनेमा जुम्लाका बिरेन्द्र कण्डारा रहेका छन् । दुर्घटनामा ज्यान गुुमाउने मध्ये १४ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा कचनपुरका खेमराज भट्ट, घोराहीकी कविता खत्री, घोराहीकै विजय घर्ति मगर, जाजरकोटका आतिस नेपाली, जुम्लाकी कुसुम रावल, डोल्पाका गजेन्द्र ऐडी, घोराही दाङका प्रदीप घिमिरे, रुकुम पूर्वका नरेश वली, दाङको दंगिशरणका संजीत रत्गैया रहेका छन् । यस्तै मदन केसी, शैलजा शाही, अर्जुन शाही, वीरेन्द्र कण्डारा र हिक्मत बोहराको पनि मृत्यु भएको छ । उनीहरुको ठेगाना खुल्न बाँकी छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर बाँके रिफर गरिएको छ ।उनीहरुको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए ।
मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरि ३७ जना रहेको प्रहरीले जनाएको छ । तर बाटोमा दुईजना यात्रु थपिएका भनिएपनि त्यसबारे पुष्टि भएको छैन ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हो।
प्रतिकृया दिनुहॊस