पोखरा । गण्डकी प्रदेशसभा बैठक सोमबार तनावग्रस्त बन्यो जब माओवादी केन्द्रका सांसद रेशमबहादुर जुग्जालीले रोष्ट्रममै उभिएर बजेट पुस्तिका च्याते। उनले म्याग्दी जिल्लाप्रति दोहोऱिएको विभेदको विरोधमा यस्तो कदम चालेका हुन्।
जुग्जालीले म्याग्दी जिल्लामा साढे तीन करोड रुपैयाँको योजना विनियोजन गरिए पनि ती योजनामा नेपाली कांग्रेस र एमालेको मात्र प्रभाव देखिएको आरोप लगाए। जबकि म्याग्दीका दुवै प्रदेशसभा क्षेत्रबाट माओवादी उम्मेदवारहरू निर्वाचित भएका छन्।
“दुई वर्षसम्म म्याग्दीलाई निरन्तर अन्याय गरियो,” उनले आक्रोश पोख्दै भने, “यदि म्याग्दीको भूगोल थाहा छैन भने म आफैं खर्च गरेर मन्त्रीज्यूहरूलाई गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु।”
उक्त विरोधको क्रममा उनले भौतिक तथा पूर्वाधार मन्त्री र अर्थमन्त्रीलाई लक्षित गर्दै आफ्नै भागको दुई करोड रुपैयाँ पनि फिर्ता लैजान सुझाए। “म्याग्दीलाई कुनै अर्थ नरहेकाले यो बजेट हामीलाई कामको छैन,” भन्दै उनले सभामुखको अनुमतिमा बजेट पुस्तिका च्यातेका हुन्।
जुग्जालीले बजेटमा सत्ता गठबन्धनकै सांसदहरूको भावना समेत बेवास्ता गरिएको दाबी गरे। “यो बजेटमा सत्ताभित्रै पनि असन्तुष्टि छ,” उनले भने, “म अर्थ मन्त्रालयको बजेट बहिष्कार गर्छु।”




