इरानमा १६ नेपाली नागरिक, पाँच जना जेलमा

काठमाडौं । युद्धको चपेटामा परेको इरानमा रहेका १६ नेपालीमध्ये ११ जनाको उद्धार गरी भारत ल्याइँदैछ। ती नेपालीहरू इरानको राजधानी तेहरानबाट मदस शहर पुगिसकेका छन् भने भोलिसम्म भारत आइपुग्ने छन्।

संसद्को प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिइन्। उनले भारत सरकारले नेपाली नागरिकको समेत उद्धार गर्न सकारात्मक भूमिका खेलेको उल्लेख गरिन्।

‘१६ जना नेपालीमध्ये ११ जना मदस आइपुगिसक्नु भएको छ,’ मन्त्री राणाले भनिन्, ‘भारत सरकारले नेपालीलाई पनि उद्धार गर्छ भनेको छ, अब ती भोलिसम्म भारत आइपुग्ने सम्भावना छ।’ बाँकी पाँच जना भने गैरकानुनी रूपमा इरान प्रवेश गरेका कारण जेलमा परेको र उनीहरूको समेत उद्धारका लागि पहल भइरहेको मन्त्री राणाले स्पष्ट पारिन्।

इरान र इजरायलबीच चर्किँदो तनावले उत्पन्न सम्भावित खतरालाई ध्यानमा राख्दै नेपाल सरकारले उच्च सतर्कता अपनाएको उनले बताइन्। ‘त्यो क्षेत्रका नेपालीहरूको सुरक्षालाई हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भनिन्, ‘इरान र इजरायलमा रहेका नेपालीलाई सचेत रहन आग्रह गरिएको छ।’

साथै, मन्त्री राणाका अनुसार, परराष्ट्र मन्त्रालयले इजिप्ट, कतार र पाकिस्तानस्थित नेपाली दूतावासहरूसँग दैनिक सम्पर्कमा रही उद्धारका सम्भाव्य रणनीतिहरूबारे नियमित छलफल गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री