काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जली योगपीठलाई जग्गा दिने प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको सामना गर्न सोमबारसम्म विशेष अदालतमा उपस्थित हुने भएका छन् । अदालतबाट औपचारिक म्याद (पुर्जी) जारी हुनुअघि नै उनी स्वयं उपस्थित भएर कानुनी प्रक्रियामा सामेल हुन लागेका हुन् ।
दुई साताअघि अख्तियारले अध्यक्ष नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपालमाथि प्रधानमन्त्री रहँदा मन्त्रिपरिषदबाट गैरकानुनी निर्णय गराई सरकारी जग्गा हिनामिना गरेको आरोप छ । अख्तियारले उनीसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन, समाजवादी प्रेस संगठन (एसपीएलए)का अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार अध्यक्ष नेपालले कानुनी प्रक्रियालाई सम्मान गर्दै म्याद पुर्जी कुरेर नबसी अदालतमा हाजिर हुने निर्णय गरेका हुन् । ‘सोमबारसम्ममा उहाँ हाजिर हुने निश्चित छ,’ सुवेदीले भने, ‘हामीले उहाँको तर्फबाट बहस गर्न आवश्यक कानुनी तयारी र वकिलहरूको टोली पनि तयार पारिसकेका छौं ।’
अध्यक्ष नेपाल सोमबार अदालतमा हाजिर भएपछि विशेष अदालतले बयान लिने प्रक्रिया सुरु गर्नेछ । बयान सकिएपछि मुद्दाका प्रमाण र कागजातका आधारमा ‘थुनछेक बहस’ हुनेछ । बहसपछि अदालतले उहाँलाई धरौटीमा छाड्ने, साधारण तारेखमा राख्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे आदेश दिनेछ ।




