इजरायलबाट फर्कन ६ सयभन्दा बढी नेपालीले टिपाए नाम, उद्धारमा जुट्दै सरकार

काठमाडौं । इजरायल र इरानबीच जारी युद्धको अवस्था झनै जटिल बन्दै गएको सन्दर्भमा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर नेपाल सरकारले आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएकी छन् ।

उनले नेपाल फर्कन चाहने नागरिकहरूका लागि उद्धारको तयारी भइरहेको जानकारी पनि दिइन् । परराष्ट्र मन्त्रालयले हालै अनलाइन पोर्टलमार्फत नेपालीहरूको विवरण संकलन गर्ने प्रक्रिया सुरु गरेको छ । यो पोर्टलमा अहिलेसम्म ६०० भन्दा बढी नेपालीले विवरण दर्ता गराइसकेका छन् भने दर्ता क्रम अझै जारी छ ।

यसैबीच, मन्त्रालयले दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गर्दै इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन भनेको छ । साथै, नेपालबाट ती मुलुकतर्फ नयाँ यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

परराष्ट्र, श्रम, गृह, र पर्यटन मन्त्रालयबीच संयुक्त बैठक बसेर युद्धले निम्त्याएको जोखिम र त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे गम्भीर छलफल भएको छ । परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रूपमा उद्धार र सहायता कार्यमा जुटिरहेको छ । स्वदेश फर्कन चाहनेहरूका लागि दर्ता खुला गरिएको र त्यसको आधारमा उद्धार प्रक्रिया अघि बढाउने तयारीमा सरकार लागेको जानकारी मन्त्री राणाले दिइन् ।

उनका अनुसार, जी-टु-जी प्रक्रियामार्फत इजरायल पुगेका नेपालीहरूलाई सुरक्षित स्थानमा जान वा स्वदेश फर्कन चाहेको खण्डमा त्यसका लागि इजरायल सरकार पनि उत्तरदायी रहेको बताउँदै आवश्यक समन्वयका लागि अनुरोध गरिसकिएको छ । सीमावर्ती मुलुकमार्फत अन्यत्र जान सहज व्यवस्था गरिदिन पनि आग्रह गरिएको छ ।

हाल इजरायलमा पाँच हजार पाँच सयदेखि सात हजार नेपाली रहेको अनुमान गरिएको छ । तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा कार्यरत छन् । इरानमा भने १८ जना नेपाली रहेका छन् । इजरायलतर्फको हवाई मार्ग बन्द रहेको अवस्थामा, सुरक्षित स्थान वा सीमावर्ती देशमा जान चाहने नेपालीहरूलाई आवश्यक सहयोग र भिसाको व्यवस्थाका लागि खाडी मुलुकस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री