काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दबाबलाई “अनावश्यक” र “सैद्धान्तिक रूपमा कमजोर” भन्दै आलोचना गरेका छन्।
“यो इस्यु नै होइन,” घिमिरेले संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रष्ट पारे, “२२ वटै मन्त्रालयका कुनै न कुनै तहका कर्मचारीहरू अख्तियारको अनुसन्धानमा परेका छन्। यदि त्यही आधारमा मन्त्रीहरूलाई राजीनामा दिनुपर्ने हो भने, सरकार संचालन नै असम्भव हुन्छ।”
घिमिरेका अनुसार भिजिट भिसा प्रकरणलाई रास्वपाले राजनीतिक प्रतिष्ठाको विषय बनाएको छ। उनका शब्दमा, “रास्वपाले यसलाई मूल एजेन्डाजस्तै प्रस्तुत गर्यो, जुन उनीहरूको प्राथमिक मुद्दा होइन। यो विषय नउठाएको भए राम्रो हुन्थ्यो।”
उनले थपे, “अख्तियारले अनुसन्धान गरिरहेकै आधारमा कसैलाई दोषी भन्न मिल्दैन। अभियोजनपछि मात्र वास्तविक संलग्नता पुष्टि हुन्छ।”
प्रमुख सचेतक घिमिरेले कांग्रेसको दृष्टिकोण स्पष्ट पार्दै भने, “हामी कसैलाई निषेध गर्दैनौं, कसैलाई राजनीतिक रूपमा भित्तैमा पुर्याउँदैनौं। सबै दल र नेताको अस्तित्वलाई ससम्मान स्वीकार गर्छौं।”




