काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरू आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। योसँगै दुई ठूला डिजिटल वालेटहरू एक भएर पहिलोपटक एकीकृत कारोबार गर्ने भएका हुन्।
आईएमई पे र खल्तीको एकीकृत कारोबारपश्चात् आधिकारिक रुपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने आईएमई ग्रुपले जानकारी दिएको छ। यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ।
संयुक्त कारोबारपछि आधिकारिक रुपमा एपको नाम खल्ती रहनेछ। ठूलो चुक्ता पुँजी र ५० लाखभन्दा बढी अधिकारिक प्रयोगकर्ताहरूले खल्ती एपलाई नेपालकै सबैभन्दा ठूलो र बलियो डिजिटल वालेटको रुपमा स्थापित गरेको छ। साथै भुक्तानी सेवा प्रदायक क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तारमा तीव्रता आउने कम्पनीको विश्वास छ।
३ महिनासम्म दुवै एप यथावत् चल्ने
नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीव्र रुपमा चल्ने कम्पनीले जनाएको छ।
यसका लागि दुवै एपहरू आईएमई पे र खल्ती यथावत् सञ्चालनमा आउनेछन्। दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि उल्लिखित समयमा एकीकृत हुनेछन्।
खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आईएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ। नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नया फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन्।
आईएमई पेका सबै फिचर खल्तीमै
संयुक्त कारोबारपश्चात् एपको नाम खल्ती भए पनि आईएमई पेमा भएका सबै फिचरहरु त्यहाँ समावेश हुने भएको छ।
अहिलेसम्म आईएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आबद्ध हुन सक्नेछन्। आईएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन्। यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको आईएमई ग्रुपले जनाएको छ।
संयुक्त कारोबारपछि यो डिजिटल भुक्तानी प्रणाली आगामी दिनमा व्यापक रूपमा प्रयोग हुने मात्र नभई सबैभन्दा विश्वासिलो भुक्तानी प्रणालीको रुपमा रहने कम्पनीको विश्वास छ।
डिजिटल भुक्तानी विस्तारै दैनिक जीवनको एक हिस्सा बन्दै गरेको वर्तमान समयमा आइएमई पे र खल्तीबीचको संयुक्त कारोबार नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा साबित हुने विश्वास छ।
फिनटेक क्षेत्रमा नयाँ अनुभव, वालेटमा सजिलै रेमिट्यान्स
खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्नेछ। एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनै पनि ठाउँबाट पठाएको रेमिट्यान्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन्।
साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ। यसरी खल्ती एपले फिनटेक प्रणालीलाई नयाँ र बलियो निर्देशन प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ।
नेपालजस्तो विकासोन्मुख समाजमा डिजिटल वालेटको कुरा सुनिन थालेको त्यत्ति लामो समय भएको छैन तर यसका प्रयोगकर्ता भने जुनसुकै उमेर समूहका पनि रहेको पाइएको छ।
‘जनसङ्ख्याको ठूलो हिस्सा डिजिटल वालेट प्रयोगमा होमिएको यो यस अवस्थामा गतिशील समाजलाई अर्थ कारोबारको सवालमा थप गतिशील बनाउन हाम्रो यो मर्जर अग्रणी बन्नेमा हामी विश्वस्त छौँ ’, आईएमई ग्रुपले भनेको छ।
साथै दुई ठुला कम्पनीको मर्जरले केन्द्रीय बैंकले लिएको फिनटेकसम्बन्धी पहुँच विस्तारमा सहयोग पुग्न गई नगद कारोबारमा कमी, विद्युतीय कारोबार विस्तार सहरीदेखि ग्रामिण भेगसम्म आर्थिक क्रियाकलापहरुमा पारदर्शिता एवम कारोबारमा विद्धि गर्दै सम्पूर्ण सबैमा समय र खर्चको सदुपयोग हुने विश्वास लिइएको पनि ग्रुपले उल्लेख गरेको छ।




