काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिने निलम्बनको निर्णयलाई तोड्दै बिहीबारदेखि आफ्नो जिम्मेवारीमा फर्किएका छन् । उच्च अदालत पाटनले उनको निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी काममा फर्किएका हुन् ।
बिहीबार बिहानै सुन्धारास्थित महानगर प्रहरी बलको मुख्यालयमा पुगेर उनले हाजिरी गरी आफ्नो नियमित कार्यभार सम्हालेका छन् । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश जारी गरेको थियो । इजलासले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत जेठ २० गते पाण्डेलाई विभिन्न आरोप लगाउँदै ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निर्णयमाथि चित्त नबुझाउँदै पाण्डेले मंगलबार उच्च अदालतमा निलम्बन बदरको मागसहित उत्प्रेषणको रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले पाण्डेलाई काम गर्नबाट नरोक्न आदेश दिएको हो ।



