काठमाडौं । सोमबारदेखि सक्रिय भएको मनसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसले गर्दा यातायात सेवा अस्तव्यस्त बनेको छ भने सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ स्थानमा राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग सिन्धुपाल्चोकका तीन स्थानमा पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्ता र कोप्लाङमा गएको पहिरोले राजमार्ग बन्द भएको हो ।
गण्डकी प्रदेशको महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिकामा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकखण्ड पनि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेमा गएको पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ । कर्णाली प्रदेशतर्फ डोल्पाको भेरी करिडोर पनि त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा बाढीका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण अवरुद्ध भएका केही महत्त्वपूर्ण राजमार्गहरूमा भने एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ । देशको मुख्य जीवनरेखा मानिने नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको इच्छाकामना-६ नाम्सी पुल र पाँचकिलोमा पहिरो खसेपछि एकतर्फी मात्र सञ्चालनमा छ ।
यसैगरी, काभ्रेको धुलिखेलस्थित बिपी राजमार्ग, धनकुटाको रवि-भेडेटार सडकखण्ड, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला-मुगु सडकखण्ड पनि पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन् ।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको जनाएको छ । वर्षा जारी रहेकाले देशका अन्य स्थानमा पनि पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन, सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।





