काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूलाई विशेष राहत दिँदै ‘पुनर्जागरण अभियान’ सुरु गरेको छ । यस अभियान अन्तर्गत, विभिन्न कारणले बीमाशुल्क तिर्न नसकी व्यतीत (ल्याप्स) भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ ।
कम्पनीका अनुसार, यो विशेष योजना यही असार २ गतेदेखि सुरु भई असार २७ गतेसम्म सञ्चालन हुनेछ। यो अवधिमा आफ्ना व्यतीत बीमालेख नवीकरण गर्ने बीमितहरूले विलम्बबापत लाग्ने सम्पूर्ण ब्याज शुल्क मिनाहाको सुविधा प्राप्त गर्नेछन् । यद्यपि, कम्पनीले बीमालेख अवधिभरमा यो सुविधा एकपटक मात्र उपलब्ध हुने स्पष्ट पारेको छ ।
सामान्यतया, बीमाशुल्क समयमा नबुझाउँदा बीमालेख व्यतीत हुन जान्छ, जसले गर्दा बीमितले प्राप्त गर्ने जोखिम रक्षावरण समाप्त हुन्छ । यसका साथै, पछि नवीकरण गर्दा जरिवाना स्वरूप चर्को विलम्ब शुल्कसमेत तिर्नुपर्ने बाध्यता रहन्छ । यही समस्यालाई मध्यनजर गर्दै बीमितहरूलाई पुनः बीमाको दायरामा फर्काउन र उनीहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न यो अभियान ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना सम्पूर्ण बीमितहरूलाई यो सुनौलो अवसरको फाइदा उठाउँदै आफ्नो व्यतीत बीमालेखलाई पुनः सक्रिय गराउन आग्रह गरेको छ । ‘हरेक नेपालीलाई बीमाको दायरामा ल्याई बीमित र उहाँहरूमा आश्रित परिवारको आर्थिक पक्षलाई सबल बनाउनु हाम्रो लक्ष्य हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अभियान त्यही लक्ष्य प्राप्तितर्फको एक महत्त्वपूर्ण कदम हो ।’
ग्राहकहरूले देशभर रहेका कम्पनीका १६९ शाखा कार्यालयहरूमा सम्पर्क गरी वा इसेवा, खल्ती, कनेक्टआईपीएस जस्ता अनलाइन भुक्तानीका माध्यम प्रयोग गरेर सहजै बीमाशुल्क भुक्तानी तथा नवीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । जीवन बीमाले व्यक्ति र उसको परिवारलाई भविष्यको अनिश्चितताबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अवसरले बीमितलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।




