काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित तालिका अनुसार असारको पहिलो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य भए पनि शिक्षकहरूको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा समयसीमा पछि धकेलिएको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। ‘शिक्षकहरूले २९ दिनसम्म आन्दोलन गर्नुभयो। आउजाउको दुई दिनसहित परीक्षण सुरु गर्न तीन हप्ता ढिला भयो,’ उनले भने, ‘अब सबै प्रक्रिया मिलाएर हेर्दा नतिजा असारको तेस्रो साताभन्दा अघिसम्म सम्भव देखिँदैन।’
हाल परीक्षाफल तयारीमा तीव्रता दिइएको र कर्मचारीहरू बिहानदेखि बेलुकासम्म खटिएको बोर्डले जनाएको छ। ‘केही ठाउँमा अझै परीक्षण जारी छ। पूर्ण परीक्षण सकिएपछि इन्ट्री, रुजु र त्रुटी शुद्धिकरणका सबै चरण पूरा गरी मात्र नतिजा सार्वजनिक गर्नेछौँ,’ डा. भट्टराईले बताए।
एसईई परीक्षा गत चैत ७ गतेदेखि देशभर एकैसाथ सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।
शिक्षक आन्दोलनका कारण यस वर्षको नतिजा सार्वजनिक मिति ढिलो भए पनि बोर्डले गुणस्तरीय नतिजा सुनिश्चित गर्ने तयारी गरिरहेको छ। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा एसएमएस र मोबाइल एपमार्फत् आफ्नो नतिजा थाहा पाउन सक्नेछन्।




