काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ स्थित पासिकोटमा एक घरभित्र पुरुष र महिलाको शव फेला परेको छ । घटनास्थलमा उनीहरूसँगै एक कुकुर पनि मृत अवस्थामा भेटिएको छ ।
मृतकहरूमा भारत, पन्जाब चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र धादिङ गल्छी गाउँपालिका–६ घर भइ सोही घरमा काम गर्दै आएकी २८ वर्षीया अन्जना तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
शुक्रवार राति करिब पौने १० बजे शव फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा अन्जनाको टाउकोमा चोट देखिएको छ भने गिलको शरीरमा भने कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ । घटनास्थलमै एउटा ह्याम्मर पनि भेटिएको छ ।
शव परीक्षणका लागि दुवै जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




