बजेटले देखाएको आर्थिक चित्र सम्भव देखिँदैन : कांग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले देखाएको आम्दानीको अनुमान यथार्थबाट टाढा रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा खर्चको वार्षिक अनुमानमाथिको छलफल’मा भाग लिँदै महतले बजेटले देखाएको आम्दानी स्रोतहरू हासिल गर्न कठिन हुने स्पष्ट पारे।

“बजेटले जुन आम्दानीको आशा गरेको छ, त्यो यथार्थमा प्राप्त हुने सम्भावना न्यून छ,” उनले भने, “विदेशी अनुदान र ऋणसमेत अपेक्षित रूपमा कार्यान्वयन नहुने देखिन्छ। राजस्व लक्ष्य पहिलेको तुलनामा घटाइएको भए पनि त्यसलाई हासिल गर्न गाह्रो हुनेछ।”

महतका अनुसार विदेशी अनुदानको प्रस्ताव गरिएको अनुपातमा प्राप्ति नहुने निश्चितप्रायः देखिन्छ भने वैदेशिक ऋणको कार्यान्वयनसमेत चुनौतीपूर्ण हुने सम्भावना छ।

कांग्रेस प्रवक्ता समेत रहेका महतले बजेटमा उल्लेख गरिएका आम्दानीका स्रोतहरू व्यावहारिक नभएकाले खर्च व्यवस्थापनमा समस्या आउने तर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्। उनले सामाजिक सुरक्षा भत्तामा केही सुधारमार्फत खर्च नियन्त्रण गर्न खोजिएको प्रयासलाई उल्लेख गरे पनि त्यसबाट अपेक्षित बचत हुनेमा शंका व्यक्त गरे।

उनले सरकारलाई राजस्व संकलनमा विशेष मेहनत गर्नुपर्ने सुझाव दिएका छन्। “विनियोजनको विश्वसनीयता आम्दानी जुट्नेमाथि निर्भर गर्छ,” महतले भने, “तर प्रस्तुत बजेटको आम्दानी लक्ष्य यथार्थपरक छैन।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री