नेपालले बंगलादेशलाई व्यावसायिक विद्युत निर्यात थाल्यो, व्यापार घाटा घटाउन कोशेढुंगा साबित हुने अपेक्षा

काठमाडौं । नेपालले आइतबारदेखि छिमेकी राष्ट्र बंगलादेशलाई व्यावसायिक रूपमा विद्युत निर्यात सुरु गरेको छ । लामो समयको प्रयास र त्रिपक्षीय सहमतिको जगमा, भारतीय प्रसारण प्रणालीमार्फत पहिलो चरणमा ४० मेगावाट विद्युत निर्यात थालिएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार मध्यरात (असार १ गते) १२ बजेदेखि बंगलादेशतर्फ विद्युत प्रवाह औपचारिक रूपमा सुरु भएको हो । गत वर्ष परीक्षणका रूपमा केवल १२ घण्टाका लागि गरिएको निर्यातलाई निरन्तरता दिँदै यस वर्ष वर्षायामका पाँच महिनासम्म निरन्तर बिजुली पठाइनेछ ।

गत वर्ष असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच भएको त्रिपक्षीय विद्युत बिक्री सम्झौताले यो निर्यातको मार्ग प्रशस्त गरेको थियो । सोही सम्झौताअनुसार गत कात्तिक ३० गते परीक्षणका लागि छोटो समय विद्युत पठाइएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यसलाई नेपालको समृद्धि र क्षेत्रीय ऊर्जा बजारका लागि एक महत्त्वपूर्ण उपलब्धि भनेका छन् । ‘वर्षायाममा खेर जाने पानीबाट उत्पादित बिजुलीलाई छिमेकी मुलुकमा बेचेर हामीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । भारतपछि बंगलादेशमा पनि बजार पाउनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो,’ मन्त्री खड्काले भने, ‘आयात घटाएर निर्यात बढाउने हाम्रो राष्ट्रिय लक्ष्यमा विद्युत क्षेत्र प्रमुख संवाहक बन्नेछ ।’

पाँच महिनामा १४ करोड युनिटभन्दा बढी निर्यात हुने
प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत केन्द्रको १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाको २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत बंगलादेश पठाइएको हो । यो निर्यात आगामी कात्तिक मसान्त (नोभेम्बर १५) सम्म जारी रहनेछ ।

नेपाल विद्युत प्राधिकरण, विद्युत प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाका अनुसार पाँच महिनाको अवधिमा करिब १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने अनुमान छ । नेपालले हरेक वर्ष वर्षायाममा उत्पादित अतिरिक्त बिजुली भारतलाई बिक्री गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री