केदारनाथमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु

काठमाडौं  । भारतको उत्तराखण्डमा चारधाम तीर्थयात्राका क्रममा फेरि एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आइतबार बिहान गौरीकुण्ड नजिकै भएको दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको पुष्टि भएको हो ।

प्रारम्भिक अनुसन्धानले खराब मौसमलाई दुर्घटनाको मुख्य कारण मानेको छ । यो घटना केदारनाथ धामबाट फाटातर्फ जाने क्रममा भएको हो । दुर्घटनाको खबर पाउनासाथ राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलको टोली उद्धारका लागि घटनास्थलतर्फ पठाइएको थियो । प्रशासनले घटनास्थलको ५०० मिटरभन्दा बढी क्षेत्रलाई नियन्त्रणमा लिएर उद्धार कार्य सञ्चालन गरेको थियो । सबै सात जनाको शव संकलन गरी पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

पोस्टमार्टमपछि शवहरूलाई आफन्तको जिम्मा लगाइनेछ । उत्तराखण्ड प्रशासनले घटनाको विस्तृत छानबिन गर्न आदेश दिएको  छ। छानबिन प्रतिवेदन आएपछि मात्र दुर्घटनाको वास्तविक कारणबारे स्पष्ट हुनेछ ।

रोकिएनन् हेलिकप्टर दुर्घटनाका घटना
चारधाम यात्राको सुरक्षा व्यवस्थालाई लिएर उत्तराखण्ड र केन्द्र सरकार दुवै सक्रिय भए पनि यस्ता घटनाहरू रोकिएका छैनन् । यसअघि गत जुन ७ मा पनि प्राविधिक गडबडीका कारण एउटा हेलिकप्टरलाई सडकमै आकस्मिक अवतरण गराइएको थियो ।

पटक-पटक हुने गरेका दुर्घटनापछि नागरिक उड्डयन महानिदेशालयले भविष्यमा यस्ता घटना हुन नदिन कडा कदम चालेको थियो । नयाँ नियमअनुसार, एक घण्टामा केवल दुई पटक मात्र हेलिकप्टर उडाउन अनुमति दिइएको छ । यहाँ पहिले दैनिक औसत २०० उडानहरू हुन्थे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री