लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ

काठमाडौं । देशलाई लोडसेडिङको अँध्यारो युगबाट मुक्त गराउने नायकका रूपमा चिनिएका नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा भव्य नागरिक अभिनन्दन गरिएको छ । ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गर्दै आम नेपालीको जीवनमा उज्यालो ल्याएको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले बुधबार हरिवनमा आयोजना गरेको एक विशेष समारोहमा घिसिङलाई सम्मान गरेको हो ।

कार्यक्रममा घिसिङले जनताको अपार माया र सम्मानप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा सरकारबाट उचित मूल्यांकन नभएको गुनासो पोखेका छन् । ‘मेरो कार्यसम्पादनलाई देश-विदेशमा रहेका नेपालीले प्रष्टैसँग देख्नुभयो, तर सरकारले शून्य नम्बर दियो । जनतालाई अँध्यारोमा राखेर उद्योगलाई विद्युत दिनेहरूको बक्यौता उठाउन खोज्दा पदबाटै हटाइयो,’ उनले भने ।

समारोहका प्रमुख अतिथि, नागरिक समाजका अगुवा नारायण बहादुर खपाङीले घिसिङको दूरदृष्टि र कुशल नेतृत्वकै कारण देशले ऊर्जा संकटबाट मुक्ति पाएको बताए । ‘विकट चेपाङ बस्तीदेखि देशका कुनाकाप्चासम्म करिब शतप्रतिशत विद्युतीकरण गर्नु, निरन्तर घाटामा रहेको प्राधिकरणलाई अर्बौंको नाफामा पुर्‍याउनु र भारत(बंगलादेशसम्म विद्युत निर्यातको ढोका खोल्नु सामान्य उपलब्धि होइन,’ खपाङीले भने, ‘घिसिङले देशको अर्थतन्त्रलाई नै चलायमान बनाउन अतुलनीय योगदान गर्नुभएको छ ।’

नागरिक अभिनन्दन मूल समितिका संयोजक धन बहादुर मिक्चनले घिसिङको सम्मान केवल व्यक्तिको नभई निष्ठा, पारदर्शिता र जनउत्तरदायी नेतृत्वप्रतिको श्रद्धा भएको बताए । अभिनन्दन ग्रहणपश्चात् बोल्दै घिसिङले विद्युतको अँध्यारो हटे पनि देशका अन्य धेरै क्षेत्रमा व्याप्त अँध्यारो हटाउन बाँकी रहेको बताए । उनले नेपालको जलविद्युतमा रहेको अपार सम्भावना औंल्याउँदै भने, ‘हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गर्न सके मात्रै पनि वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, जुन हाम्रो कुल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।’

पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसजस्ता आयातित ऊर्जालाई स्वच्छ जलविद्युतले प्रतिस्थापन गर्न सके देशको व्यापार घाटा कम हुने र हरित पर्यटन तथा कृषिमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री