काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन पूर्वतयारीका कामहरू तीव्र रूपमा अघि बढाएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा फैलिएको विगतको अनुभवका आधारमा नेपालमा समयमै सतर्कता अपनाइएको हो ।
हाल भारतसँग जोडिएका १७ स्थल नाका र ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल नाकामा हेल्थ डेस्क सञ्चालनमा राखिएको छ। ती नाकामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रवेश गर्ने यात्रुहरूमध्ये जसमध्ये आरडिटी परीक्षण गर्दा नतिजा जे आए पनि एक साताको लागि सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
डा. बुढाथोकीका अनुसार कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरू— चाहे नेपालभित्र वा बाहिरका—लाई पनि आइसोलेशनमा बस्न, तथा स्वास्थ्य समस्या गम्भीर भएमा नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ।
उनले हाल कोरोना उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्ति पर्याप्त रहेको र संक्रमण बढेमा पनि सहज व्यवस्थापन सम्भव हुने बताएका छन्। आकस्मिक अवस्थाका लागि पाँच मिनेटभित्र काम सुरु गर्नेगरी रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ।
हाल देशभर २५ वटा हव अस्पताल र २ हजारभन्दा बढी सेटलाइट अस्पताल तयारी अवस्थामा छन्। साथै, ६ सयभन्दा बढी प्रयोगशालाबाट संकलित रिपोर्टहरू केन्द्र र प्रदेश सरकारले अनुगमन गर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार अहिलेको तयारीले संक्रमण बढेमा ९० हजारदेखि १ लाख जनसंख्याको उपचार सम्भव हुने व्यवस्था मिलाइएको छ।
यसैबीच, मनसुनसँगै फैलिने झाडापखाला, टाइफाइड, हैजा, डेंगु, मलेरिया जस्ता पानीजन्य र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राखेर पनि पूर्वतयारी गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।
उनले संक्रमण रोकथाममा आमनागरिकको भूमिका महत्त्वपूर्ण हुने भन्दै व्यक्तिगत सतर्कता अपनाउन र सरकारको आग्रह पालना गर्न आग्रह गरे। “सरकार एक्लैले संक्रमण रोक्न सक्दैन,” उनले भने, “नागरिक सचेत नहुने हो भने सीमित स्रोत साधनले सबैको उपचार सम्भव हुँदैन।”
विपद् व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहसँग नियमित समन्वय गर्दै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन पनि गरेको छ।
साथै, बाटो अवरुद्ध हुने सम्भावनालाई ध्यानमा राखी सडकमार्ग र हवाईमार्ग दुवै प्रयोग गरी आकस्मिक सेवा तथा उद्धार कार्य सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ।
पश्चिम—उत्तरका क्षेत्रमा जलवायु परिवर्तनका कारण बाढीपहिरोको जोखिम तथा तराईमा गर्मी र हिट स्ट्रोकको सम्भावनालाई ध्यानमा राखी फरक रणनीति अनुसार काम भइरहेको मन्त्रालयले जनाएको छ।
डा. बुढाथोकीका अनुसार विगतको अनुभवका आधारमा स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने प्रयासस्वरूप मातहतका निकायहरूलाई समयमै निर्देशन दिइएको छ।
मन्त्रालयको हटलाइन, ‘हेलो स्वास्थ्य’ नम्बर, प्रदेश र स्थानीय तहका आकस्मिक सेवा नम्बरमार्फत नागरिकले सजिलै सेवा पाउने व्यवस्था मिलाइएको पनि बताइएको छ ।




