काठमाडाैँ । नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ। उनीहरूको जीवनशैली कम्युनिस्ट मूल्य मान्यताविपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए। पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ। ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, विलासिता प्रदर्शन गर्ने जुन प्रवृत्ति देखिएको छ, यसको अन्त्य गर्नुपर्छ,’ उनले भने।
पछिल्लो समय मन्त्रीहरूले दोहोरो सुविधा लिएको र राष्ट्रपति-उपराष्ट्रपतिलाई महँगा गाडी तथा हेलिकप्टर खरिदको विषयले विवाद निम्त्याएको संकेत गर्दै बोहराले मुलुकको अवस्थाअनुसार न्यूनतम सुविधा प्रयोग गर्न ध्यानाकर्षण गराए। ‘अहिले जुनसुकै सर्वोच्च पदमा पुगे पनि हिजो टेक्ने ठाउँ पार्टी नै थियो । त्यो पार्टीको आदर्श कस्तो थियो भन्ने बिर्सन हुन्न,’ उनले भने, ‘महँगो हेलिकप्टर किन चढ्नुपर्यो? न्यूनतम सुविधामै बस्न पनि सकिन्छ।
कुनै संस्था त्यस्तो शैलीमा लागेका छन् भने त्यसलाई विनम्रतापूर्वक अस्वीकार गरिदिनुपर्छ।’ बोहराले नेताहरूमा आलोचना फिटिक्कै सुन्न नसक्ने प्रवृत्ति हाबी भएको भन्दै यो पनि कम्युनिस्ट आदर्शविपरीत भएको बताए।
‘आलोचना-आत्मालोचनाको शैली व्यावहारिक हुनुपर्छ, आलोचना सुन्न नसक्ने प्रवृत्ति हुर्कियो,’ उनले भने, ‘नेतृत्वमा रहने कोही पनि आलोचनाबाट माथि हुन हुँदैन।’ उनले पार्टीमा आदर्श र प्रणाली कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरे। विवादित गतिविधिमा पार्टी र नेताहरूको संलग्नता देखिने गरेको भन्दै बोहराले एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री होटलमै गएर बसिदिएको प्रसंग जोडेका थिए ।
पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा लागू नभएकामा पनि उनले गुनासो गरे। कसैलाई जिम्मेवारी थोपर्ने र कसैलाई खाली राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको माग थियो। बिहीबार अन्य नेताहरूले भने अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको पक्ष र विपक्षमा धारणा राखे। यसअघि बैठकमा सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य विष्णु रिमालले नेतृत्वले आत्मालोचना गर्न नपर्ने बताए।
प्रतिकृया दिनुहॊस