काठमाडौं । देशभरका डिजिटल सामग्री निर्मातालाई लक्षित गर्दै एनसेलले ‘लीग अफ क्रिएटर्स’ शीर्षकमा एक विशेष राष्ट्रिय अभियान सुरु गरेको छ । अपट्रेन्डलीसँगको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले नेपालभर फैलिएका नव प्रतिभाशाली कन्टेन्ट क्रिएटर्सको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिएको छ ।
‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताले डिजिटल स्टोरीटेलर्सलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ विषयमा केन्द्रित भई ३० देखि ९० सेकेन्डको भिडियो सामग्री तयार गर्न आह्वान गरेको छ । सहभागीहरूले भिडियो सामग्री टिकटक र इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ, जसमा एनसेल र तोकिएको मेन्टरलाई ट्याग गर्दै तोकिएको ह्यासट्याग प्रयोग गर्नु अनिवार्य छ ।
प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन भने १६ वर्ष माथिका सबै नेपाली क्रिएटर्सले सहभागिता जनाउन सक्नेछन् । जेठ २७ भित्र भिडियो सामग्री पोष्ट गर्नुपर्नेछ । प्राप्त सामग्रीहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्स छानिनेछन्, जसले प्रतिष्ठित मेन्टरहरू – सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारको टिममा विभाजन भई विशेष प्रशिक्षण र कार्यशालामा भाग लिनेछन् ।
“यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन् । यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं,” एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।
अभियानको ग्रान्ड फिनाले असार १४ गते आयोजना हुनेछ, जहाँ मुख्य विजेताले १० लाख रुपैयाँ बराबरको एनसेल ब्रान्ड डिल प्राप्त गर्नेछ । अन्य विजेताहरूले पनि राष्ट्रिय स्तरको नेटवर्किङ, सीप विकास र पहिचान निर्माणको अवसर पाउनेछन् । सामग्री मूल्याङ्कनमा एनसेल र अमेरिकी दूतावासका प्रतिनिधिहरू सहभागी हुनेछन् ।



