आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा समभाव र समानताको विकास गर्दै जातीय छुवाछूत जस्तो अमानवीय प्रथालाई जरैदेखि उन्मूलन गर्नुपर्नेमा जोड दिएका छन् । उनले कुनै पनि व्यक्तिको मूल्यांकन जात, थर वा जन्मको आधारमा नभई उसको कर्म, विचार र समाजमा पुर्‍याएको योगदानका आधारमा गरिने सभ्य समाज निर्माण गर्न सबै लाग्नुपर्ने बताएका हुन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्छ । तर, मानवताभन्दा माथि कुनै जात हुँदैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप