नेपालका दुई ठूला पूर्वाधार परियोजनाका लागि विश्व बैंकबाट २५ करोड डलरभन्दा बढी ऋण स्वीकृत

काठमाडौं । नेपालले विश्व बैंकबाट दुई प्रमुख पूर्वाधार परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने भएको छ। विश्व बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै मे २९ मा बसेको यसको निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जानकारी दिएको हो।

स्वीकृत ऋण विद्युत् आपूर्ति प्रणालीको सुधार र सिँचाइ सेवाको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्न लक्षित छ। विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाको लागि १२ करोड डलर ऋण सुविधा प्रदान गरिएको छ। यस परियोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका वितरण संरचनालाई सुदृढ र भरपर्दो बनाइनेछ।

नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने यो परियोजनाले नयाँ सबस्टेसन निर्माण, वितरण संरचना स्तरोन्नति तथा आधुनिक प्रविधिको प्रयोगद्वारा निगरानी प्रणाली स्थापना गर्नेछ। यसले विद्युत् सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

दोस्रो परियोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत भएको छ। कैलाली जिल्लामा सञ्चालन हुने यस आयोजनाले वर्षैभरि सिँचाइ सेवा उपलब्ध गराउनेछ।

परियोजना सम्पन्न भएपछि थप १७ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ, जसबाट करिब एक लाख ६० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

विश्व बैंकको यो ऋण सहयोगले नेपालको ऊर्जा र कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ। सरकारका अनुसार परियोजनाहरूले रोजगारी सिर्जना, उत्पादन वृद्धि र ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न सहयोग गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री