दिल्लीबाट सुरु भयो नेपालमा हिन्दु राष्ट्र स्थापनाको अन्तर्राष्ट्रिय दबाब अभियान, भारत सरकारलाई ज्ञापन

काठमाडौं । नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा पुनर्स्थापना गर्ने र राजसंस्था फर्काउने मागसहित अन्तर्राष्ट्रिय तहमा दबाब सिर्जना गर्ने पहल सुरु गरिएको छ ।

काठमाडौंमा विगत चार दिनदेखि चलिरहेको आन्दोलनसँगै भारतको राजधानी नयाँ दिल्लीमा पनि गतिविधि तीव्र बनेको छ । ‘नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्च’ले आइतबार दिल्लीको प्रेस क्लब अफ इन्डियामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था पुनःस्थापनाका लागि भारत सरकारसँग समर्थन माग गरेको हो ।

मञ्चका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई ज्ञापन पत्र पठाइएको छ । सो ज्ञापनमा नेपाललाई हिन्दु राष्ट्र घोषणामा सहयोग पुर्‍याउन कूटनीतिक, नैतिक र रणनीतिक समर्थन माग गरिएको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. इञ्जि. विष्णुप्रसाद बरालले गणतन्त्र स्थापनापछि १७ वर्षमा नेपालले राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भएको बताए । ‘नेपालमा विकास, स्थायित्व र राष्ट्रिय एकताका लागि हिन्दु राष्ट्रसहितको राजसंस्था आवश्यक छ,’ उनले भने, ‘त्यही दृष्टिकोणले भारत सरकारमार्फत अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्न पहल गरेका छौं ।’

कार्यक्रममा समाजसेवी तथा अधिकारकर्मी भोपाल सिंह चौधरी, मञ्चका सदस्य युवराज बराल र पार्वती बमको पनि उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री