जावलाखेलमा भोटोको रौनक, उपत्यकामा सार्वजनिक बिदा

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष जावलाखेलमा आयोजित यो जात्रा नेपालकै सबैभन्दा पुराना सांस्कृतिक परम्परामध्ये एक हो  ।

आजको दिन मच्छेन्द्रनाथको रथ यात्राको समापनसँगै भोटो देखाउने परम्परा पुरा गरिँदैछ । करिब ८०० वर्ष पुरानो भनिने यो जात्रालाई पहिले ‘जावलाखेल जात्रा’ भनिन्थ्यो। संस्कृतिशास्त्री कीर्तिमदन जोशीका अनुसार, ‘जा’ भन्नाले भात र ‘वला’ भन्नाले छर्ने अर्थ लाग्ने हुँदा यो नाम रहन गएको हो। जनविश्वासअनुसार, यो जात्रा भूतप्रेतलाई खाना चढाउने उद्देश्यले सुरु गरिएको हो।

भोटो जात्राको सुरुवात कहिले भएको हो भन्ने ठ्याक्कै मिति यकिन छैन, तर मच्छेन्द्रनाथको रथ यात्रा भने करिब १३०० वर्षअघि सुरु भएको मानिन्छ। किंवदन्तीअनुसार, नागराज कर्कोटककी रानीलाई आँखाको रोग भएपछि वैद्यको खोजीमा लाग्दा खेतमा काम गरिरहेका एक किसानलाई वैद्य सम्झिएर नागलोक (टौदह) लगिएको थियो। त्यहाँ उनले मच्छेन्द्रनाथको आराधना गर्दै हात माडेर मयल दिएका थिए, जसले रानीको रोग निको भएको थियो। त्यसको पुरस्कारस्वरूप मणिमाणिक्यले सजिएको भोटो उनलाई दिइएको थियो।

तर पछि एक दिन खेतमा काम गरिरहँदा त्यो भोटो एक भूतले लगेर गयो। किसानले त्यो भूतलाई मच्छेन्द्रनाथको जात्रामा भोटो लगाएको देखेपछि दाबी गरे तर भूतले नस्वीकार्दा विवाद भयो। अन्ततः न त किसान, न त भूत—दुवै जनालाई भोटोको अधिकार दिन नसकिने ठहर गर्दै भोटो मच्छेन्द्रनाथकै जिम्मा लगाइयो। त्यसपछि देखिएको प्रमाणका आधारमा कसैले दाबी गरेमा भोटो बुझाउने परम्परा बस्यो, तर आजसम्म कसैले प्रमाणसहित भोटो दाबी गर्न सकेको छैन।

आजको दिन ललितपुरको जावलाखेलमा मच्छेन्द्रनाथको रथ अगाडि चार कोणबाट भोटो देखाइनेछ। पछिल्ला वर्षहरूमा गुठी संस्थान ललितपुरका प्रतिनिधिबाट राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा चल्दै आएको छ। यस सांस्कृतिक अवसरमा सरकारले काठमाडौँ उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप