चन्द्रागिरिमा बाइक दुर्घटना हुँदा ३६ वर्षीया महिलाको मृत्यु, चालक घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ भने चालक घाइते भएका छन् । शनिबार बेलुकी करिब पौने ८ बजे मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी नुवाकोटको ककनी-१ निवासी ३६ वर्षीया सुनिता बलामीको उपचारका क्रममा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा मृत्यु भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। उनी मोटरसाइकलको पछाडिको सिटमा सवार थिइन् । सोही दुर्घटनामा चालक मानबहादुर बलामी पनि घाइते भएका छन् । उनी पनि ककनी-१ का बासिन्दा हुन् र हाल एपीएफ अस्पतालमै उपचाररत छन् ।

मोटरसाइकल भने थानकोट प्रहरी वृत्तको नियन्त्रणमा रहेको जनाइएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री