राजनीतिक दलले दिन नसक्ने एकता राजतन्त्रले दिन्छ : मनीषा कोइराला

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले गणतन्त्र दिवसकै अवसरमा मुलुकको एकताका लागि संवैधानिक राजतन्त्र आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपालले आफ्नो मौलिक पहिचान र राष्ट्रिय एकताका लागि यो बाटो रोज्नुपर्ने बताएकी हुन् ।

‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ,’ उनले लेखेकी छन्, ‘जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन्। दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन् ।’

अभिनेत्री कोइरालाले आजको राजनीतिक प्रणालीमा भ्रष्टाचार गहिरो रूपमा प्रवेश गरिसकेको औंल्याउँदै जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रण कायम गर्न सक्ने एक गैरराजनीतिक संस्थाको आवश्यकता रहेको बताइन् ।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेकी छन्, ‘आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो – एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ ।’

उनले नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दू अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्नेमा जोड दिँदै जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सांस्कृतिक निरन्तरता, र राष्ट्रिय एकताले निर्देशित हुनुपर्ने उल्लेख गरिन् ।

कोइरालाले राजतन्त्र सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको र यसले मौलिक पहिचान सम्झाउने आधार प्रदान गर्ने तर्क गरेकी छन् । ‘यो विभाजनको होइन – यो राष्ट्रिय पुनर्जागरणको आह्वान हो,’ उनले स्पष्ट पारिन्, ‘हामी केवल एउटा सानो गणतन्त्र होइनौँ जुन अनन्त राजनीतिक खेलमा अल्झिएको छ । हामी एउटा गौरवशाली सभ्यता हौँ, जसको विशिष्ट पहिचान र भविष्यप्रति पवित्र जिम्मेवारी छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री