संसद्मा अबरोध : विपक्षी दलले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको भनिएको असुली र मानव तस्करी प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नहुने गम्भीर आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पार्टीका उपमहासचिव वर्षमान पुनले यो घटना सामान्य भ्रष्टाचार मात्र नभएर संगठित मानव तस्करीसँग जोडिएको र यसमा उच्च तहको संलग्नताको आशंका व्यक्त गरे ।

उपमहासचिव पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य आरोपितका रूपमा किटान गरेका अध्यागमन विभागका कर्मचारी तीर्थ भट्टराईलाई गृहमन्त्रीकै प्रत्यक्ष अग्रसरतामा विमानस्थलमा खटाइएको दाबी गरे । उनले भने, ‘यो प्रकरणमा गृहमन्त्रीको सचिवालय प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ । यस्तो अवस्थामा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ ।’

भिजिट भिसा प्रकरणले सदन र सडक दुवैतर्फ तरंग ल्याएको छ । यस प्रकरणमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग चौतर्फी रूपमा उठिरहेको छ । माओवादी केन्द्रले यो विषयलाई सदनमा सशक्त रूपमा उठाउँदै घटनाको गहिराइसम्म पुगेर छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेको हो ।

उपमहासचिव पुनले विमानस्थलजस्तो संवेदनशील स्थानमा हुने यस्ता अनियमितताले मुलुकको अन्तर्राष्ट्रिय छबिलाई समेत धमिल्याउने भन्दै सरकार यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले संगठित अपराधको सञ्जाल तोड्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सरकारसँग आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री