काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-३ मा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने दुई शिक्षकको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी थाहा नगरपालिका-१ ओखरगाँउस्थित झम्केश्वर माविका दुई शिक्षक गुमाएको छ भने दुई शिक्षक घाइते भएका हुन् ।
शिक्षकहरू विद्यालय सकेर ‘इभिनिङ वाक’ मा निस्किएका बेला थाहा नगरपालिका-३ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै ब्रेक फेल भई अनियन्त्रित भएको बा ३ ख ५९९० नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा परी झम्केश्वर माविमा नेपाली विषय पढाउने सप्तरी, विष्णुपुर-५ निवासी लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो । विद्यालयका विज्ञान शिक्षक, सिराहा औराही नगरपालिकाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका विद्यालयका गणित शिक्षकहरू, बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्वीका ३० वर्षीय रामगुलाम चौधरीको पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । शिक्षकद्वयको दुःखद निधनको शोकमा थाहा नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा मंगलबार पठनपाठन बन्द गरिएको छ ।
थाहा नगरपालिकास्थित मालपोत कार्यालयका लेखापढी व्यवसायी (लेखनदास), थाहा नगरपालिका-९ चित्लाङ निवासी ४० वर्षीय कृष्ण बलामीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह पनि सख्त घाइते भएका छन् र उनको उपचार काठमाडौँमा भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार, चार जना शिक्षक र मालपोतमा कार्यरत दुई जना साथीहरूसहित छ जनाको समूह गफिँदै ‘इभिनिङ वाक’ गरिरहेको अवस्थामा थाहा नगरपालिका-३ शिखरकोट बजारबाट थानाबजार तर्फ जाँदै गरेको उक्त बसले उनीहरूलाई ठक्कर दिनुका साथै किचेको थियो । ब्रेक फेल भएको बस अनियन्त्रित भई थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र समेत पसेको थियो । दुर्घटनाका बेला बसमा यात्रुहरू भने नरहेको बताइएको छ ।




