काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ । आइतबार राति खाना पकाउने क्रममा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टका अनुसार, शुद्धोधन गाउँपालिका-५ स्थित जयनगर हतिया दोवानी बस्तीमा भएको आगलागीमा परेर स्थानीय २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको मृत्यु भएको हो ।
‘खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भई आगलागी हुँदा घटना भएको हो,’ एसपी भट्टले भने । आगोमा जलेर गम्भीर घाइते भएका दाजुबहिनीलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै भारतको जयनगरतर्फ लगिएको थियो । तर बाटोमै उनीहरूको मृत्यु भएको हो ।
उनीहरूको शव हाल पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । आगलागीबाट घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखेको छ ।




