मानव तस्करी प्रकरण : अध्यागमनका ६ कर्मचारी जिम्मेवारीमुक्त, सहसचिव भट्टराईसमेत पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीव्र अनुसन्धान अघि बढाइरहेको बेला गृह मन्त्रालयले अध्यागमन कार्यालयमा कार्यरत ६ जना नायब सुब्बालाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालय स्रोतका अनुसार भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालय स्वयंले समेत आन्तरिक छानबिन गरिरहेको छ । यही सन्दर्भमा ती कर्मचारीहरूलाई मन्त्रालयमा तानेर जिम्मेवारीमुक्त गरिएको बताइएको छ ।

यसअघि आयोगले दुई दिनअघि विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो । सोही कारबाहीका क्रममा अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । आयोगले दिनभर उनलाई सोधपुछ गरेर साँझमा भोलिपल्ट उपस्थित हुने सर्तमा रिहा गरेको थियो ।

आयोगले मानव तस्करीको शृंखलाबद्ध रूपमा भइरहेको शंका गर्दै एक महिनाअघि नै अनुसन्धान सुरु गरिसकेको थियो । छानबिनको जानकारी पाएका सहसचिव भट्टराईले पक्राउभन्दा एक दिनअगाडि सरुवा मागेको बुझिएको छ ।

विमानस्थल हुँदै गैरकानुनी रुपमा मानव ओसारपसार भइरहेको गम्भीर आशंकासहित आयोगले अध्यागमन प्रणालीमै संगठित कमजोरी र संलग्नताको अनुसन्धान गरिरहेको छ । यो घटनाले नेपालको अध्यागमन प्रणाली, मानव सुरक्षा र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री