काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गतको ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पूर्ण रूपमा पालना गरेबापत कम्पनीलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।
बेलायतस्थित Stanchuly Management and Services बोर्डले कम्पनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियोजना विकास, डिजाइन र निर्माण पक्षको विस्तृत मूल्यांकनपछि यो प्रमाणपत्र प्रदान गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक सुदीप खड्काले जानकारी दिए।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको गहनापोखरीमा रहेको छ भने दोलखाको सिंगटी खोलामा निर्माण गरिएको २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना चार वर्षदेखि व्यावसायिक उत्पादनमा सञ्चालनमा छ।
ऊर्जाक्षेत्रमा सक्रियता बढाउँदै कम्पनीले धितोपत्र बजारमा समेत आफ्नो उपस्थिति जनाइसकेको छ। कम्पनीको पुँजी संरचना र पारदर्शी व्यवस्थापनले लगानीकर्तामाझ विश्वसनीयता बनाएको छ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ प्रमाणपत्रले कम्पनीको प्रगति यात्रा थप विश्वसनीय बनाउने विश्वास व्यक्त गर्दै सञ्चालक खड्काले भने, ‘यो उपलब्धिले हामीलाई अझै उत्कृष्ट सेवा र परियोजना कार्यान्वयनतर्फ प्रेरित गर्नेछ।’




