काठमाडौं । राजधानीको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक घटनाबारे काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाका अनुसार बिहीबार प्रहरीले उक्त प्रतिवेदन पेश गरेको हो ।
प्रतिवेदनमा प्रहरीले १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । प्रहरीको अनुसन्धान अनुसार ५३ जना हाल प्रहरी हिरासतमा रहेका छन् । तीमध्ये २६ जनालाई राजद्रोह र संगठित अपराधअन्तर्गत तथा २७ जनालाई आपराधिक उपद्रव मुद्दामा अनुसन्धान गरिएको हो ।
प्रहरीले यसबाहेक ३७ जनालाई हाजिर जमानीमा छाडेको छ। हाजिर जमानीमा छुट्नेहरूमध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणा र दुर्गा प्रसाईं पनि छन्। तीनैजनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा अब सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ। मुद्दा दर्ता भएपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा नराख्ने विषयमा अदालतमा बहस हुनेछ ।
तीनकुने घटनाले राजधानीको शान्ति सुरक्षामा गम्भीर असर पारेको भन्दै घटनापछि व्यापक आलोचना भएको थियो। प्रहरीले हिंसात्मक प्रदर्शनमा संलग्नको पहिचान गर्दै सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीका बयान तथा डिजिटल प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको थियो ।




