दाहसंस्कार गर्न लागिएको बालिकाको शव प्रहरी नियन्त्रणमा

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका-४, सिप्प्रङमा ६ वर्षीया बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ । बालिकाको मृत्यु हत्याका कारण भएको हुनसक्ने आशंकामा प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिका तामाङको शव बिहीबार नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, गत वैशाख ३० गते युनिकाका बुवा गोपाल तामाङ र उनकी भाइबुहारी (युनिकाकी काकी) कल्पना तामाङबीच घरायसी विषयमा झगडा भएको थियो ।

सोही क्रममा कल्पनाले रिसको झोकमा भतिजीलाई घर नजिकैको डिलबाट धकेलेर लडाइदिएको आरोप लागेको छ । डिलबाट लडेर गम्भीर घाइते भएकी युनिकाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।

मृतक बालिकाको शव दाहसंस्कारका लागि नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी, प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धानका लागि मृतक बालिकाका बुवा गोपाल तामाङ र भाइबुहारी कल्पना तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई आज अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री