काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको खैरहनी नगरपालिका वडा नं. १० स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ।
बैंकको नारायणगढ क्षेत्रका प्रमुख प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा पोशाकहरू हस्तान्तरण गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकले गरेको सहयोगले विद्यार्थीहरूलाई विद्यालयप्रतिको आकर्षण बढाउनुका साथै अभिभावकहरूमा पनि राहत पुगेको बताए। उनले यस्तो प्रकारको सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा, साक्षरता र समुन्नत समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।
पोशाक वितरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।




