काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित एक कोठाबाट कीर्ते कागजात बनाउने गिरोह सक्रिय रहेको खुलेपछि प्रहरीले बुधबार सो स्थानमा छापा हानी तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गरेको छापामारीबाट सरकारी, गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, जग्गाधनी पूर्जालगायतका कागजात नक्कली बनाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा गोरखा भीमसेनथापा गाउँपालिका–१ की अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का, र मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्री रहेका छन्।
महाशाखाका अनुसार मुख्य योजनाकार बयलकोटी विगत ८ वर्षदेखि कीर्ते कार्यमा संलग्न थिइन्। उनले फुटुङस्थित कोठामा मासिक १० हजार र १५ हजार रुपैयाँमा कर्मचारी राखेर नक्कली कागजात डिजाइन र सम्पादन गराउने गरेकी थिइन्।
अनुसन्धानका क्रममा खुलेका विवरणहरू अनुसार उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, बैंकबाट कर्जा लिन जग्गाधनी प्रमाण, शैक्षिक संस्थाका प्रमाणपत्र, अनुभवका पत्र, स्थानीय तहका सिफारिस, सरकारी अस्पतालका मेडिकल कार्ड, तथा ‘क’ वर्गका बैंकका नक्कली स्टेटमेन्ट समेत तयार पार्ने गरेका थिए।
विशेषगरी जापानलगायत देशहरूमा अध्ययन वा श्रमिक भिसाका लागि जान चाहने नेपालीलाई आवश्यक पर्ने कागजात बनाउने र तिनलाई कुरियरमार्फत विदेश पठाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा, वीर अस्पतालको नाममा नक्कली मेडिकल कागजात बनाइ पीआर वा ग्रीन कार्डका लागि विदेशमा प्रयोग गर्नेसम्मको कार्य उनीहरूको गिरोहबाट हुँदै आएको अनुसन्धानले देखाएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि विद्यमान कानुनअनुसार कागजात किर्ते, ठगी तथा आपराधिक समूह सञ्चालन सम्बन्धी अभियोगमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। यस किसिमको कीर्ते कार्यले विदेशमा नेपालीहरूको विश्वसनीयता, देशको प्रतिष्ठा र सामाजिक सुरक्षामा गम्भीर असर पार्ने भएकाले घटनालाई गम्भीरताका साथ अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ।




