काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा स्थायित्वसहितको बलियो सरकारको निर्माण नहुँदासम्म आर्थिक तथा प्रशासनिक सुधार सम्भव नहुने बताएका छन् । नेकपा एमालेद्वारा काठमाडौंमा आयोजित ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणको खाँचो औंल्याएका हुन् ।
महासचिव पोखरेलले आगामी निर्वाचनपछि कुनै एउटै दलले पाँच वर्षको स्थायित्वसहित सरकार सञ्चालन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे । ‘मिलिजुली सरकार होइन, बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुकलाई लैजानुपर्छ,’ उनले भने, ‘यो नीतिगत सुधारका लागि अनिवार्य आवश्यकता हो ।’
उनले थपे, ‘दुई दल मिलेर निर्वाचनमा सहभागी भए पनि, जसले जितेपनि पाँच वर्ष सरकार चलाउन पाउने खालको संरचना तयार गर्न जरुरी छ ।’
पोखरेलले नीतिगत सुधार केवल राजनीतिक दलको काम नभई निजी क्षेत्रको पनि संकल्प बन्नुपर्ने उल्लेख गरे । ‘राष्ट्रिय पार्टीहरू बलियो नबनाएसम्म सुधार सम्भव छैन,” उनले भने, “निजी क्षेत्र एक भएर राष्ट्रिय दलहरूको सुदृढीकरणमा उभिनु जरुरी छ ।’ उनले नेपालको प्रशासनिक प्रणाली सुधार्न सबै पक्षको भूमिका जरुरी भएको उल्लेख गर्दै भने, ‘नेपालको ब्युरोक्रेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र आफैंले गरेका हौं ।’
उनले विलम्बकारी प्रवृत्तिले परियोजनामा शतप्रतिशत नोक्सानी पुर्याउने खतरा रहेको बताए । ‘भ्रष्टहरूले १५ प्रतिशत आर्जन गर्छन् होला, तर कामै नगर्नेहरूले लागत दोब्बर बनाउँछन्,’ पोखरेलले भने, ‘त्यसैले सुधारको वातावरण तयार गर्न सबै जिम्मेवार बन्नुपर्छ ।’
महासचिव पोखरेलले मौद्रिक नीतिको अस्थिरताले व्यवसायिक जोखिम बढाउने भन्दै त्यसमा स्थायित्व ल्याउनु अपरिहार्य रहेको धारणा राखे । ‘मौद्रिक नीति स्थिर बनाउन नसके व्यवसाय सधैं जोखिममा रहन्छ,’ उनले भने, ‘आर्थिक विकासमा स्थिर मौद्रिक नीतिको भूमिका निर्णायक हुन्छ ।’




