विवाह समारोहमा करेन्ट लाग्दा दुई महिलाको मृत्यु

मोरङ । एक खुसीको माहोललाई क्षणभरमै शोकमा बदल्ने दुर्घटना मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा शनिबार राति घट्यो। विवाहको उत्सवमा रमाइरहेकी दुई वृद्ध महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो। उनीहरू स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाह समारोहमा सहभागी भई नाचगानमा रमाइरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार घटनामा ३० वर्षीया राधाकुमारी सिंह पनि सामान्य घाइते भएकी छन्। उनलाई उपचारपछि घर फर्काइएको छ।

दुर्घटनाको कारण के थियो?

प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार, विवाह समारोहको माइक जडानका लागि हरियो बाँस प्रयोग गरिएको थियो, जुन हाइटेन्सन लाइन नजिकै गाडिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन तारमा ठोक्किएपछि करेन्ट सरेको बताइएको छ।

त्यसले नाचगान स्थलमा रहेका तीन जनालाई करेन्ट लागेको थियो। गम्भीर घाइते रामुदेवी र सूर्यदेवीलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो, तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले दुबैलाई मृत घोषित गरे।

यो घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ। रमाइलो र उल्लासको क्षणमा यति ठूलो विपत्ति पर्दा परिवार र समुदाय दुवै मर्माहत छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री