अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री

काठमाडौं । नेपाली चलचित्र क्षेत्र दशकौंदेखि प्रतिक्षामा रहेको एक महत्वपूर्ण पूर्वाधारको सपना अब साकार बन्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियोको निर्माण आरम्भसँगै, यो परियोजना नेपाली सिनेमा क्षेत्रमा एक क्रान्तिको रूपमा स्थापित हुने दाबी गरेका छन्।

बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने उक्त स्टुडियोका लागि चलचित्र क्षेत्रले झण्डै ६० वर्षदेखि आवाज उठाउँदै आएको तर हाल मात्र त्यसले मूर्तरूप पाउन थालेको बताए।

उनी भन्छन्, “पहिलो कार्यकालमै यो निर्णय गरिएको थियो, तर जग्गा विवाद र सरकार परिवर्तन जस्ता अवरोधले काम अघि बढ्न सकेन। अहिले राज्यको ढुकुटीमा पैसा कम छ, तर सुरु गरिएका कामहरू पुरा गर्छौं। यसका लागि आवश्यक बजेट सुनिश्चित गरिनेछ।”

प्रधानमन्त्री ओलीका अनुसार स्टुडियोको निर्माण केवल भौतिक पूर्वाधारको विकास मात्र नभई, नेपाली सिनेमा उद्योगमा युगान्तकारी परिवर्तनको सुरुआत हो। उनले यो आरम्भलाई “युग परिवर्तनको उद्घोष” को संज्ञा दिए।

आर्थिक दृष्टिले पनि देशलाई लयमा ल्याएको दाबी गर्दै प्रधानमन्त्रीले अर्थतन्त्र अब “त्रिशूलीमा नखस्ने” विश्वास व्यक्त गरे। साथै, बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा सम्बन्धी अनियमितताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चारमन्त्री र सचिवलाई तत्काल छानबिन गरेर १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिए।

राजनीति र अभिनयबीचको सन्दर्भमा बोल्दै उनले भने, “कतिपयले राजनीतिलाई अभिनयको माध्यम बनाएका छन्, तर हामी राजनीतिलाई यथार्थ परिवर्तनको साधन मानेर अघि बढिरहेका छौं।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री