नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांश उपसूचक राताम्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। बजार परिसूचक १४.८७ अंकले घट्दै २,६३४.२३ विन्दुमा झरेको हो। बजार घटे पनि कुल कारोबार रकम भने झण्डै १० अर्बको हाराहारीमा पुगेको छ।

आज ३१४ वटा कम्पनीका दुई करोड १८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। कुल एक लाख दुई हजार चार सय ४५ पटकको कारोबारबाट ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

बजार समग्रमा ओरालो लागे पनि केही क्षेत्र भने हरियालीमा देखिए। विकास बैंक, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहमा सामान्य वृद्धिदर देखिएको छ। तर बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त, निर्जीवन बीमा, व्यापार, म्युचुअल फन्ड लगायत अधिकांश समूहमा गिरावट आएको छ।

यसदिन केही कम्पनीको शेयर मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य झण्डै ८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको झण्डै १५ लाख ५० हजार कित्ता शेयर किनबेच भई ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप