काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा एक २१ वर्षीया मुस्लिम युवतीको शंकास्पद मृत्यु भएको छ। विवाह भएको मात्र छ महिनापछि निधन भएकी सानिया प्रविनको मृत शरीर आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको हो।
सानिया कटहरिया–३ बड़ेरवा टोल घर भई हाल कटहरिया–५ मा बसोबास गर्दै आएका अहमद राय भाटका छोरा अरमान राय भाटकी पत्नी थिइन्। घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। शवलाई मुचुल्का तयार गरी पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो।
पोस्टमार्टमपछि सानियाको शव उनकी आमा कायमा खातुनले बुझेर अन्तिम संस्कारका लागि लगिएको प्रहरीले जनाएको छ। खातुन भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको सुगौलीकी बासिन्दा हुन्।
सानियाकी आमाले छोरीको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेकी छिन्। उनका अनुसार विवाहपछि ज्वाइँ अरमान राय भाटले लगातार दाइजोको माग गर्दै सानियामाथि मानसिक र शारीरिक दुर्व्यवहार गर्दै आएका थिए।
मृतकका माइती पक्षले अरमान र उनका परिवारजनमाथि गम्भीर आरोप लगाउँदै हत्या आरोपमा अनुसन्धान गरी कडा कानूनी कारबाहीको माग गरेका छन्। यसैबारे इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिन पुगेको तर हालसम्म औपचारिक जाहेरी दर्ता नभएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटना शंकास्पद भएको पुष्टि गर्दै अनुसन्धानपश्चात मात्र यकिन नतिजामा पुग्न सकिने बताएका छन्। उनले कानूनी प्रक्रिया प्रमाणको आधारमा अघि बढाइने स्पष्ट पारेका छन्।




