काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको नाफा अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि भएको देखिएको छ। कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत् बिक्री आम्दानीसँगै खुद नाफा उल्लेखनीय रूपमा बढेको हो।
चैत मसान्तसम्म कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड ४८ लाख रुपैयाँ नाफाको तुलनामा ६८९ प्रतिशतले बढी हो। विद्युत् बिक्री आम्दानी २५.७७ प्रतिशतले बढेसँगै अन्य आम्दानीमा पनि १ हजार २९९.५४ प्रतिशतको उछाल देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७०.१३ प्रतिशतले बढेको छ भने कुल नाफा १८.४७ प्रतिशतले वृद्धि भएको छ। यस्तो वृद्धिले कम्पनीको प्रतिशेयर आम्दानीमा पनि प्रत्यक्ष प्रभाव परेको छ। अघिल्लो वर्षको तुलनामा ६ रुपैयाँ ७२ पैसाको वृद्धिसहित यो ७ रुपैयाँ ७६ पैसामा पुगेको छ।
चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणामा पुगेको छ। कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५९ करोड ८५ लाख रुपैयाँमा सीमित छ।




